समाचार

रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार

इनरुवा । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताए । सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको छ भने।

उनले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै संवैधानिक निकाय, प्रेस स्वतन्त्रता र न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाए । उनले फरक प्रसंगमा मुलुकमा धेरै पार्टी नरहने दाबी गर्नुहुँदै नेकपा र नेपाली काँग्रेस मात्र रहने जिकिर गरे । उनले सुनसरीको विकास निर्माणमा आफ्नो सबैभन्दा ठूलो योगदान रहेको दाबी गरे।

कार्यक्रममा बर्जू गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि रु ३६ करोड, ६६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष राघुनन्दन चौधरीले कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका शीर्षकमा विनियोजित बजेट सार्वजनिक गरे ।