राजनीति

समृद्धिका लागि युवा सिर्जनशीलताको प्रयोग गर्नुपर्छः खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि युवाहरूले जुझारू भावनाका साथ आफ्नो सीप, दक्षता तथा सिर्जनशीलतालाई प्रयोग गर्नुपर्ने बताए ।

डल्लु आवास स्थानीय सहयोग समितिले बिश्व युवा दक्षता दिवसको सन्दर्भमा आईतबार आयोजना गरेको सम्पदा दौड कार्यक्रमको समापनमा उहाँले समाजमा हरेक युवा आफ्नो कार्यमा दक्ष भई अगाडी बढ्नुपर्ने सुझाव दिए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले देशमा पर्यटन विकासका लागि आयोजना गरिएको सम्पदा क्षेत्रको दौड कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुग्ने बताए ।

विश्व सम्पदा क्षेत्र परेकोे स्वयम्भूको भूइँखेलबाट शुरू भएको उक्त कार्यक्रम भीमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, इन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वह र स्वयम्भू परिक्रमा गरेर स्वयम्भू स्तूपामा दौड कार्यक्रम समापन भएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न जिल्ला, डोजोहरू र संस्थाहरूबाट प्रथम, द्वितीय र तृतीय हुनुभएका खेलाडीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट पदक र ट्रफी प्रदान गरिएको थियो ।

नेपालका प्राचीन एवं पौराणिक सम्पदाहरुलाई पहिचान सहित विश्वसमुदायमा चिनाउने उद्देश्यले सम्पदा दौड प्रतियोगिता आयोजना गरेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी दिए ।

उक्त सम्पदा दौड हरेक वर्ष आयोजना गरी स्वदेशी तथा विदेशी खेलाडीहरूलाई सहभागी गराउँदै जाने बताइएको छ ।