प्रदेश 1

पहिरोले सडक अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाअन्तर्गत सिनाम आम्बेगुदिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गएरातिको वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि आज बिहानैदेखि उक्त सडक खण्डमा चल्ने यातायात बन्द भएको स्थानीयवासीले बताएका छन् ।

सिनाम र आम्वेगुदिन जोड्ने नेगुखोला नजिकै दुई ठाउँमा झरेको पहिरोले सडक पुरेको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार तेल्लोक र आम्वेगुदिनबाट पाँचथर, इलाम साथै झापाको बिर्तामोड जाने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।

यस्तै ताप्लेजुङ सदरमुकामतर्फ गएका र सदरमुकामबाट तेल्लोक आम्वेगुदिन आएका सवारी साधनसमेत बीचैमा रोकिएका छन् । थेबेका अनुसार बिहानैदेखि पहिरोले बाटो अवरोध भए पनि कतैबाट खुलाउने प्रयास भएको छैन । नजिकै रहेको एउटा स्काभेटर मेसिनमा समेत खराबी आएकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको थेबेले बताए ।

उक्त क्षेत्रमा सधैँ पहिरो झरिरहने समस्या भए पनि रोकथामका लागि कुनै प्रयास नभएको बताइएको छ । पहिरो गएको क्षेत्रमा अहिले मोटरेवल पुलसमेत निर्माण भइरहेको छ ।