प्रदेश 1

फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँसभा

पाँचथर । फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभाले सडक, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई पहिलो प्राथामिकतामा दिएको छ ।
आफ्नो क्षेत्रलाई गरिबी निवारणोन्मुख गाउँपालिका बनाउन गाउँवासीलाई मिनी टिलर लगायतका आधुनिक कृषि औजार वितरण गर्ने तथा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि कृषकलाई प्लास्टिक टनेल, थोपा सिँचाइ पाइप, क्यारेट, बीउबिजन आदि वितरण गरिने प्रमुख अमरकुमार नेम्बाङ्गले जानकारी दिए ।

यस्तै युवा तथा महिलालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने, गाउँपालिकाभित्र रहेका बाँझो जग्गाको तथ्याङ्क संकलन गरी उक्त जग्गाको उपयुक्त व्यवस्थापन र प्रयोगका लागि कृषकलाई प्रोत्साहन, खेलमैदान, अस्पताल तथा ब्यायामशाला निर्माण गरिने पनि सो अवसरमा जनाइएको थियो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवो मौसमले उक्त सभा शुभारम्भ गर्दै अबको ५ वर्षभित्र प्रदेश नं १ लाई समृद्ध बनाएर छोड्ने बताए ।  प्रदेश नं १ को सरकारले सडक, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार विकास लगायतका विषयमा प्राथामिकता दिएर अघि बढ्नेमा जोड दिँदै उनले अब प्रत्येक टोलटोलसम्म विद्युतीकरण गरेर प्रदेश नं १ लाई उज्यालो प्रदेश निर्माण गर्ने चर्चा गरे । मन्त्री मौसमले पाँचथरमा मात्रै रू एक अर्ब जतिको बजेट आब ०७५/७६ का लागि विनियोजन गरेको पनि बताए।