समाचार

योग र ध्यानबाट नै वास्तविक आनन्द प्राप्त हुने

काठमाडौँ । ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा सञ्चालित सातदिने ब्रह्मज्ञान साधना शिविर शनिबार यहाँ सम्पन्न भयो ।

सद्गुरुदेव निजानन्दद्वारा प्रवचन तथा साधना गराइएको सो शिविरमा सफल जीवनका लागि मानिसलाई उपयोगी हुनसक्ने योग तथा ध्यान विधि सिकाइएको थियो भने २८ जनाले सो शिविरमा भाग लिएका थिए ।

असार २४ देखि शुरु भई शनिबार सम्पन्न भएको ध्यानको समापनका अवसरमा सद्गुरुदेव निजानन्दले मानिसहरु जे चाहिएको छ त्यो गर्दैनन् तर अरु नै कुरामा अलमलिने हुनाले जीवनमा असफल हुने बताउदै योग र ध्यानबाट नै मानिसहरुले वास्तविक आनन्द प्राप्त गर्ने बताए ।

अभियानको कार्यालय शान्तिनगरमा भएको साधनामा भाग लिने रामशरण खरेल, पत्रकार तीर्थ भट्टराई, रेशमराज डुम्रे, रुपक खड्का, चन्द्रमणि ढुंगानालगायतले गुरुले मानिसका एकदमै व्यावहारिक समस्यालाई मध्यनजर गरी योग र ध्यानको उपयोगितालाई सटिकरुपमा व्याख्या गरी ध्यान गराएको बताए ।

शिविर व्यवस्थापन गर्न शान्तिनगर बस्दै आएका सानु घिमिरे, नारायण घिमिरे दम्पतिका साथै इन्दु कर्माचार्यलगायतले सघाएका थिए।

योग तथा ध्यानमा दश जोड दूईका विद्यार्थी, शिक्षक, गृहिणी महिला देखि लिएर ५० वर्षभन्दा बढी समयदेखि अध्यापन गराउँदै आएका इन्जिनियरिङका प्राध्यापक ७८ वर्षीय विश्वनाथ सिन्हाले समेत साधनामा भाग लिएका थिए ।