राजनीति

राजपाले संसद्मा प्रभावकारी भूमिका खेल्ने

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ ।

राजपा संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकले संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार नवनिर्वाचित दलका नेता ठाकुरले वर्तमान समसामयिक परिस्थितिबारे बैठकमा धारणा राख्दै राजपाले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

राजपालाई मधेश केन्द्रित दलका रुपमा चित्रण गरिने गरेकामा आपत्ति जनाउँदै नेता ठाकुरले राजपा देशका सम्पूर्ण उत्पीडनमा परेका जनताको भावनालाई एकाकार गर्दै अनवरतरुपमा अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

सरकारलाई समर्थन गरेको राजपाले सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् ।