समाचार

बानेश्वरमा गोविन्द केसीको सम्बोधनः माफियामुखी र डन पोस्ने गरी ऐन ल्याउने होइन, माग पूरा गर्नुस्, अनसन तोड्छु

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ दिन देखि आमरण अनसनरत प्राडा डाक्टर गोविन्द केसीले अडियोमार्फत सम्बोधन गरेका छन् । अडियोमार्फत सम्बोधन गर्दै डा. केसीले माग पूरा भए मात्रै अनसन तोड्ने बताएका हुन् ।

‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्। मलाई उठाएर काठमाडौं लैजाने होइन’, उनले अडियो मार्फतको सम्बोधनमा भनेका छन्, ‘म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु ।’

चिकित्सा शिक्षा विधेयक जस्ताको त्यस्तै ल्याउनु पर्ने गोविन्द केसीको भनाई छ । उनले चिकित्सा शिक्षा ऐनमा कुनै तोडमोड गरिए त्यो मान्य नहुने चेतावनी दिएका छन् । माफियामुखी ऐन जनताको विरुद्धमा रहेको बताउदैँ उनले भने, ‘जनतामुखी र विद्यार्थीमुखी अध्यादेश तोडमोड गरेर नेता र माफियामुखी ऐन ल्याउने तयारी सरकारले गर्दैछ’ उनले भने, ‘जसले दुई तिहाइ भोट दिए। उनीहरू (जनता) को हकहितविरुद्ध हुने गरी ऐन ल्याइँदैछ। नागरिकमुखी ऐन ल्याउनुपर्छ माफियामुखी र डन पोस्ने गरी ऐन ल्याउने होइन।’