राजनीति

गृहमन्त्री र शिक्षामन्त्रीको लज्जा हरायोः सुरेन्द्र भण्डारी

काठमाडौं । डा. गोविन्द केसी समर्थकहरुले शनिबार राजधानीमा बृहत प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, विवेकशील साझाँ पार्टी, नेपाल चिकित्सक संघ लगायतले शनिबार माइतीघर मण्डला देखि नयाँ बानेश्वर सम्म प्रदर्शन गरेका हुन् ।

नयाँ बानेश्वर पुगेर उक्त प्रदर्शन र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिएका थिए । १५ दिन देखि आमरण अनसनरत डा. केसीका सबै माग जायज भएको वक्ताहरुको भनाई छ । डा केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

सभामा बोल्दैँ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माफियाका नाइके भएको आरोप लगाएका छन् । प्रधानमन्त्री तथा वर्तमान सरकारका मन्त्रीहरुले दिने गरेका अभिव्यक्ती संविधान विपरित भएको उनको भनाई छ । ‘केसीका माग वेवास्ता गर्ने ओली सरकारले संविधान मिचेको छ, उनले भने, यो राजनीतिक नैतिकता हराएको सरकार हो ।’

‘अलिकती पनि लज्जा नभएका गृहमन्त्री र शिक्षामन्त्रीले सत्याग्रही डा. केसीलाई जर्बजस्ती उठाएर ल्याउछौँ भन्दैँ हुनुहुन्छ, अधिवक्ता भण्डारीले अघि भने, डा. केसीलाइ छोएर त हेर्नुहोस् तिन करोड नेपाली उठ्नेछन् ।’