प्रवास

प्रवासीद्वारा सहयोग

बाबियाचौर । डेढ वर्षअघिको आगालागिबाट ध्वस्त भएको बेनी नगरपालिका– ४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।

दश कोठे भवन पुनःनिर्माणका लागि म्याग्दी समाज अमेरिकाले संकलन गरेको रु दुई लाख २१ हजार १७० शुक्रबार प्रदेशसभा सदस्य विनोद केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले व्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँ, आर्थिक संयोजक सुमन बानियाँ र प्रअ रामप्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन् ।

पूर्व विद्यार्थी मनोज र दिपा बानियाँको पहलमा अमेरिकामा भवन पुनःनिर्माणका लागि सहयोग संकलन भएको थियो । सोही अवसरमा स्थानीयवासी चन्द्रबहादुर चन्दले रु एक लाख पाँच हजार र जलजला समाज अस्टे«लियाले उपलब्ध गराएको रु ४५ हजार रु पनि विद्यालयलाई हस्तान्तण गरिएको थियो ।

रु एक करोडको लागत अनुमान गरिएको भवन पुनःनिर्माण कार्य गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । भवन पुनःनिर्माणका लागि हाल दक्षिण कोरियामा रहेका पूर्व विद्यार्थी विनोद कुँवरको पहलमा दक्षिण कोरियाको ‘ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशन’ले सहयोग गरेको छ ।

विसं २०७३ फागुन २६ गते साँझ विद्युत् सर्ट भएर आगालगी हुदाँ विद्यालयको आठ कोठे भवन ध्वस्त हुनुका साथै ९२ लाख रुपैया बराबरको क्षत्ति भएको थियो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयका विद्यार्थी जीर्ण भवन र टहरामा बसेर पढ्दै आएका छन् ।