स्वास्थ्य

जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

फलेवास, पर्वत । कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित बनेको कर्मचारीको गुनासो छ । डा थापाका ठाउँमा बुटवलबाट नयाँ डा आउने गरी सरुवा भए पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएका कारण आवको समाप्तिमा पूरा गरिने कागजी प्रक्रियामा असर परेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिए ।

तत्कालका लागि केही कामका लागि जनस्वास्थ्य अधिकृत महर्जनलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइए पनि आर्थिक कारोवारका लागि महर्जनसंँग अधिकार नभएका कारण आवको अन्त्यमा हुने कामको फछ्र्योटमा समस्या देखिएको छ ।

त्यसबाहेक गर्मी र वर्षायामका कारण जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गइरहे पनि प्रमुख चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने चिकित्सकसमेतको अभाव खड्किएको छ । हाल गाउँगाउँमा रहेका स्वास्थ्यचौकीका कर्मचारीलाई समेत बिदामा नबस्न भन्दै अनुरोध गरेको जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालमा प्रमुख नै नहुँदा भने जिल्ला अस्पतालमा देखिएको लापर्वाही प्रष्ट देखिएको गुनासो बढेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष राधाकुमारी क्षेत्रीले सरुवा भएर गएका डा थापाका सट्टामा आउने चिकित्सकलाई तत्काल हाजिर हुनका लागि अनुरोध गरिएको र केही दिनभित्रै व्यवस्था हुने जानकारी दिए ।