साहित्य

प्रमद्वारा विदेशी साहित्यकारको सम्मानमा रात्रीभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरे ।

प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका क्रममा विदेशी साहित्यकारहरुको नेपाल बसाइ सुखमय रहने अपेक्षा व्यक्त गर्दै सम्मिलनको सफलताको कामना गरे ।

प्रधानमन्त्री ओलीले आज अपराह्न सो सम्मिलनको उद्घाटन गरेका थिए । सम्मिलनकै पहिलो दिन आज जमलस्थित राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सम्मिलनमा भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलाङलगायतका स्थानका साहित्यकारहरुको सहभागिता रहेको छ ।

सम्मिलनको दोस्रो दिन शनिबार हिमवत्खण्डका संस्कृति र सभ्यतासम्बन्धी कार्यपत्रहरुको प्रस्तुति, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र हास्यव्यङ्ग्य साँझ हुनेछ ।