खेलकुद

कराते संस्थापक राई सम्मानित

काठमाण्डौ । नेपाली करातेका संस्थापक थानेश्वर राई शुक्रबार सम्मानित भएका छन् । नेपाल सितोरियो कराते संघ, उत्तर भेगीय शाखा डोजो, बुढानीलकण्ठले आयोजना गरेको राष्ट्रिय खुला कराते प्रतियोगिताको उद्घाटन अवसरमा राई सम्मानित भएका हुन् ।

सोही अवसरमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सगरमाथा सफल आरोहण गरेका दोश्रो डान कराते खेलाडी सुशील लिम्बू पनि सम्मानित भए । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा नेपाल प्रहीका आईजीपी सर्वेन्द्र खनालको समेत उपस्थिति थियो ।

बुढानीलकण्ठमा भइरहेको प्रतियोगिताको पहिलो दिन प्रदेश २ ले सर्वाधिक ९ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै पहिलो स्थानमा छ । ३ स्वर्ण, ६ रजत र २ कांस्यसाथ आयोजक दोश्रोमा छ । तेश्रो स्थानमा रहेको प्रदेश ४ ले २ स्वर्ण, ३ रजत र १ कांस्य जितेको छ ।

प्रदेश २ का लागि सुजित तामाङ, बुद्ध मोक्तान, चाँदनी राई, सुनिता तामाङ, इशा वाइबा, सुस्मिता वाइबा, कोपिला बुढाथोकी, इलिशा तामाङ र निशा मोक्तानले स्वर्ण जिते । तिलगंगा बमजन, सन्तोष राई र किशोर तामाङले आयोजकलाई स्वर्ण दिलाए ।

प्रतियोगिताको उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष एवं आयोजक डोजोका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । दुईदिने प्रतियोगितामा सात प्रदेश र आयोजक गरी ८ टिमका २ सय खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।