बाग्मती

हेटौँडा कुलेखानी सडक यातायात सञ्चालन

हेटौँडा । हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई आज मध्याह्नदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट हेटौँडालगायत तराई र हेटौँडाबाट काठमाडौँतर्फ गएका सुमो जीप, कार, मोटरसाइकललगायतका साधन यातायात सञ्चालन भएपछि आ– आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यसैगरी मदनभण्डारी सडक खण्डमा पर्ने सिस्नेरीस्थित इन्द्रसरोवर गाउँपालिका–२, ज्यामिरेमा गएराति गएकै पहिरोबाट अवरुद्ध रहेको सडकलाई पहिरो पन्छाउने कार्य भइरहेको र आज साँझसम्ममा काठमाडौँ–हेटौँडाको यातायात सेवा सञ्चालनमा ल्याइने लक्ष्य रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।