बाग्मती

स्थानीय गाई संरक्षण गर्न भागवत महायज्ञ

काठमाडौँ । स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ । श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ । अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले राससलाई जानकारी दिए ।

“भागवत मागी खाने भाँडा बनेको छ, हामी कथा सुन्न सबैलाई आमन्त्रण गर्छौं, कथा सुन्दैमा दान गर्नुपर्छ, भन्ने अनिवार्य छैन, गीत, संगीत र नृत्यका माध्यमबाट स्रोतालाई दान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होइन”–उनले भने ।

कार्यक्रममा आचार्य इन्द्रेशले कथावाचन गरिरहेका छन् । इच्छुक दाताले दिएको सहयोग कार्यक्रम सकिएपछि असार ३१ गते गणना गरी सार्वजनिक गरिने संस्थाले जनाएको छ । सहयोगबाट सडकमा रहेका स्थानीय गाईलाई संरक्षण गर्न प्रयोग गरिने छ । हालसम्म पशुपति नन्दीस्थलमा जम्मा भएका नौ वटा स्थानीय गाईलाई छुट्टै राखेर संरक्षण गरेको जनाइएको छ ।

पश्चिमा देशमा भएको वैज्ञानिक अनुसन्धानले जुरो र सिङ भएका स्थानीय जातको गाईको गहुँत, गोबर एवम् दूध धेरै रोगका औषधि हुने तथ्य प्रमाणित गरेको छ । शास्त्रीय रुपमा स्थानीय गोरस् पवित्र मानिन्छ । पछिल्लो समय नेपालमा पनि स्थानीय गाईको संरक्षणका लागि संस्थागत पहल शुरु भएको छ ।