समाचार

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उनले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गदै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गरे ।

आलम गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थिए ।