बाग्मती

सडक सुधारका लागि कामदार तैनाथ

रसुवा । वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ ।

सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्मिक यात्रुको आगमनमा सहजता ल्याउन र विद्युत्गृृहलगायत आयोजनामा सामग्री ढुवानीमा सहज पार्नसडक रेखदेखका लागि कामदारको व्यवस्थापन गरिएको हो ।

ससाना कार्य कामदारबाट गर्ने र ठूला आकस्मिक पहिरो पन्छाउन एक एक स्काभेटर र हेबी लोडर तैनाथ राखी चार सुपरभाइजरलेसडकको नियमित अवस्थाबारे अनुगमन गर्ने व्यवस्थासमेत मिलाइएको सडक एकाइले जनाएको छ ।

नेपाल चीनको व्यापार कारोवार गर्ने रसुवागढी नाका नियमित रुपमा निर्बाध सञ्चालन गर्न बेत्रावतीदेखि रसुवागढीसम्म ७० किमी सडक रेखदेखका लागि आगामी आवदेखि छुट्टै एकाइ राखिएको छ । इञ्जिनीयर गुप्ताले अबका दिनमा जस्तोसुकै पहिरो आए पनि एक दुई घण्टामै अवरुद्ध सडक मर्मत सुधार हुने बताए ।

यही असार महिनभित्र ससाना सात पहिरो गए पनि तुरुन्तै सफा गरी यात्रुवाहक बस र मालवाहक ट्रक निर्बाध रुपमा सञ्चालन गराइएको बताइएको छ । दैनिक सरदर १०० भन्दा ट्रक कन्टेनर रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने गरेको संयुक्त कन्टेनर व्यवसायी संघका अध्यक्ष सन्जीव डिएमले जानकारी दिए । सवारीसाधनको चाप व्यवस्थापनका लागि बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु, टिमुरे, रसुवागढीलगायत स्थानमा ट्राफिक व्यवस्थापन मजबुत पारिएको जिल्ला ट्राफिक इञ्चार्ज नवराज खड्काले बताए।