स्वास्थ्य

चिकित्सक संघद्वारा डा केसीको जीवन रक्षाको जोडदार माग

काठमाडौँ । मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।

डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका प्रवक्ता डा विनय पञ्जियारले अनशनप्रति सर्मथन जनाउँदै माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न उठेकाले उक्त प्रतिवेदनलाई समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने माग गरे ।

उनले भने, “सरकारले अब उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ, सो विषयमा डाक्टर केसीले पनि विरोध गर्नुहुँदैन ।”

सरकारी पक्ष, विज्ञ, नेपाल मेडिकल काउन्सिललगायतले मेडिकल कलेज स्थापना लागि नयाँ मापदण्ड निर्धारण गरेर प्रक्रिया पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने संघले जनाएको छ ।

पौडेललाई थुनामुक्त गर्न माग

यसैगरी गोरखा फुजेलका नागरिक समाजले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल थुनामुक्त गर्न माग गरेका छन् ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजका संयोजक परशुराम पौडेलले उनलाई तत्काल रिहाई गर्न माग गरे ।

फुजेलका स्थानीयवासी महाप्रसाद पौडेलले पौडेल निर्दोष रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिइबीका कारण आफन्तलाई फसाउन खोजेको आरोप लगाइएकामा चिन्ता व्यक्त गरे ।

उनले कृष्णप्रसाद अधिकारीे हत्याको जिम्मेवारी तत्कालीन नेकपा (माओवादी) ले लिइएकाले परिवारका सदस्यलाई फसाउन खोज्नु अन्याय हुने उनले विचार व्यक्त गरे ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा ७८ वर्षीया पौडेलको हालै आँखाको शल्यक्रिया गरिएको र उनी उच्च रक्तचाप र पिसाबसम्बन्धी समस्याबाट ग्रसित रहेको भनिएको छ ।