पर्यटन/संस्कृति

शिक्षाको गुणस्तर बढाएमात्र मुलुकको विकासः मन्त्री अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले  यहाँ आयोजना गरिएको एक कार्यक्रममा उनले सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा ‘ए’ र ‘ए प्लस’ ल्याउने ९० जना विद्यार्थी र ३५ विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको हो ।

सो अवसरमा मन्त्री अधिकारीले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर बढाएमात्र मुलुकको विकास हुने भन्दै सरकारले अब सामुदायिक विद्यालयको शिक्षामा जोड दिइने बताए ।

पहिलेको भन्दा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढेको बताउँदै उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता हो भने ।

मन्त्री अधिकारीले विद्यार्थीलाई व्यावहारिक बनाउनका लागि प्रयोगात्मक शिक्षा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा भौगोलिक परिवेशअनुसारको शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे ।

अनेरास्ववियुका अध्यक्ष नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले सरकारले गुणस्तर शिक्षामा ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक विद्यालयले निजी विद्यालयसरह राम्रो नतिजा ल्याउन सक्छन् र सामुदायिक विद्यालयको हौसला बढाउनका लागि सम्मान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।