बाग्मती

रोकिएन पोलिथिन झोलाको प्रयोग

ललितपुर । पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ ।

प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म पसलेले सामान बेच्नका लागि प्लास्टिककै झोला दिने र उपभोक्ताले लैजाने गरेको उक्त विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताए। सहज रुपमा किन्न पाइने हुँदा पसलले यसको प्रयोग कम गरेका छैनन् भने उपभोक्ताले पनि सित्तैमा पाइने भएपछि अन्य झोला नबोक्ने गरेको उल्लेख गर्दै उनले भने, “ वातावरण मन्त्रालय र उद्योग मन्त्रालय बसेर छलफल गरेर समाधान निकाल्न सहज हुन्छ । ”

काठमाडौँ उपत्यका र उपत्यका बाहिरका शहरी क्षेत्रमा प्लास्टिकका कारण वातावरण प्रदूषण बढ्दो छ । केही वर्षपहिले विभागले व्यापक रुपमा अनुगमन गरेर मापदण्डभन्दा पातला झोला जफत गरेको थियो । विभागले त्यतिबेला जफत गरेकै झोलाको अझै व्यवस्थापन हुन सकेको छैन । उनले भने, “उत्पादन गर्नेलाई कारबाहीभन्दा पनि उत्पादन नगराउनु उचित हुन्छ ।” वातावरण सफाइका लागि कपडाको झोलाको महत्वका बारेमा विभागले देशका विभिन्न भागमा सचेतना कार्यक्रम गरिरहेको छ ।

प्लास्टिकको झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८ (संशोधन २०७१) ले नेपालभर ३० माइक्रोनभन्दा पातला झोला आयात, भण्डारण र बिक्री–वितरणमा रोक लगाएको छ । कतिपय नगरपालिकाहरुले पनि पोलिथिन झोला प्रयोग नगर्न/नगराउन कडाइ गर्न थालेका छन् ।