साहित्य

भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता

बुटवल । आदिकवि भानुभक्त आचार्यको २०५ औँ जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियादेखि भैरहवाको भानु माविसम्म आज साहित्यिक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ३५ जना प्रतियोगीलाई उछिन्दै साढे पाँच किलोमिटर दूरीको सिद्धार्थ नगरपालिका–१२ शान्तिनगरका सुजन गुरुङ प्रथम भएका छन् ।

यसैगरी, द्वितीय हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी बलबहादुर पुन रहनुभएको छ भने तृतीय स्थान ओमसतिया गाउँपालिका–४ बालापुरका लक्ष्मण श्रीस थापाले जित्न सफल भएका छन् । प्रतियोगितामा सशस्त्र प्रहरी बल डण्डा गुल्मका विजयराज गिरी चौथो भए ।
बेलहियाको नेपाल प्रवेशद्वारमा प्रतियोगिताको सिद्धार्थनगर पालिकाका प्रमुख हरिप्रसाद अधिकारीले शुभारम्भ गरेका थिए ।

प्रतियोगीहरु बेलहियाबाट, डण्डा हुँदै भैरहवा बसपार्क देवकोटाचौक, नयाँसडक ब्रमेलीटोल, बुद्धचौक प्रभातपथ हुँदै भानु माविमा रहेको आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमासम्म पुगेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई भानु माविको सभा हलमा आयोजित सभा हलमा प्रतियोगिता आयोजक सिद्धार्थ साहित्य परिषद् र सिद्धार्थ नगरपालिकाले स्वागत गरेको थियो ।

सभा हलमा प्रतियोगिता समापन समारोहमा नगर प्रमुख अधिकारीले राष्ट्रिय विभूतिका रुपमा रहेका आदिकवि आचार्यलाई साहित्यकारहरुले मात्रै नभएर खेलमार्फत सम्झिने परम्पराको थालनी उदाहरणीय भएको बताए ।

परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता भएको कार्यक्रममा भानुजयन्ती मूल समारोहका सदस्य प्राडा कपिल लामिछाने, साहित्यकारहरु मणिराम भट्टराई, मोति सुवेदी, कृष्ण बस्यालले भानुभक्तको साहित्यिक कृतिमाथि प्रकाश पार्नु भएको थियो ।

प्रतियोगिताका प्रथम हुनेले रु आठ हजार नगद, द्वितीय हुनेले रु पाँच हजार र तृतीय हुनेले रु तीन हजार नगद प्राप्त गर्नेछन् । उक्त नगद पुरस्कार र प्रमाणपत्र असार २९ गते भैरहवामा आयोजित भानुजयन्ती विशेष कार्यक्रममा प्रदान गरिने जनाइएको छ ।