कर्णाली प्रदेश

‘जुम्ला–रारा अल्ट्रा म्याराथनमा दुर्ग बुढा प्रथम

सुर्खेत । “जुम्ला–रारा अल्ट्रा म्याराथुन—२०१८” को उपाधि जुम्लाका दुर्ग बुढाले जितेका छन् । बुधबार बिहान ७ः२५ बजे सदरमुकाम जुम्ला खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड बुढाले पाँच घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरी प्रथम भएका हुन् ।

पाँच घण्टा २८ मिनेट ३२ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय र पाँच घण्टा ३२ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी धिरेन भण्डारी तृतीय भएको रारातालबाट कर्णाली खेलकुद क्लबका सचिव मधुराज न्यौपानेले जानकारी दिए ।

पाँच घण्टा ३७ मिनेट ३३ सेकेण्डमा सो दुरी पार गरेर धनकुटाका विवेक राईले चौथो स्थान प्राप्त गरेका छन् ।

यसैगरी, महिलातर्फ छ घण्टा ३४ मिनेट ४९ सेकेण्डमा अन्तिम बिन्दु रारातालको हुटुमा पुगेर सुनमाया बुढा प्रथम, छ घण्टा ५९ मिनेट ४३ सेकेण्डभित्र पार गरी राममाया बुढा द्वितीय र सात घण्टा १० मिनेट १७ सेकेण्डमा पार गरी हिमाली रावत तृतीय हुनुभएको छ ।

प्रतियोगी महिला सबै जुम्लाका हुन् । सात घण्टा १३ मिनेट ४७ सेकेण्डमा रारा हुटु पुगेकी सोलुखुम्बु जिल्लाकी छेची शेर्पा चौथो भएकी सचिव न्यौपानेले बताए ।

म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाईमा दौडेका थिए । खेलमा भाग लिएका ३२० मध्ये ७२ जना रारा पुगेको जनाइएको छ ।

क्लबले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।