प्रदेश 1

कृषिको आधुनिकीकरण गर्नु जरुरीः मुख्यमन्त्री राई

दमक । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल कृषिका लागि उर्बर र उच्च सम्भावना भएको ठाउँ भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले त्यसलाई थप आधुनीकरण गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।
बुधबार झापाको गौरादहमा यसै वर्ष सञ्चालनमा आएको कृषि र पशु विज्ञान अध्ययन संस्थान, गौरादह कृषि क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा कक्षा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “बढ्दो जनसंख्या र शैक्षिक जनशक्तिलाई सन्तुलनमा ल्याउन पनि कृषिको आधुनिकीकरणको खाँचो छ, यसमा प्रदेश सरकार गम्भीर छ ।”

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरादह कृषि क्याम्पस यस क्षेत्रका सबैको अथक प्रयासपछि सञ्चालनमा आएकाले क्याम्पसलाई कृषि अध्ययनको केन्द्रीय क्याम्पस बनाउने लक्ष्य रहेको बताए ।

सांसद दीपक कार्कीले सामुदायिक क्याम्पसको रुपमा रहेको गौरादह बहुमुखी क्याम्पस कृषि क्याम्पस आउँदैमा विस्थापित नहुने बताए । उनले बहुमुखी क्याम्पसका लागि जग्गा व्यवस्थापन भइसकेकाले एक वर्षभित्रमा भवन निर्माण गरी क्याम्पस सञ्चालनमा आउने बताए ।

कार्यक्रमका सभापति त्रिभुवन विश्वविद्यालयका डीन डा केशवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालनमा आएको गौरादह कृषि क्याम्पसमा यस वर्ष ५० जना विद्यार्थीहरुले अध्ययन गर्ने जानकारी दिए ।

कार्यक्रममा गौरादह नगरपालिका प्रमुख रोहितकुमार शाहले कृषि क्याम्पस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट विनियोजन गरेको बताउँदै कृषि विषय अध्ययनमा स्थानीय क्षेत्रका विद्यार्थीहरुलाई केही आरक्षण सिटको व्यवस्था गरिनुपर्ने बताए ।