कृषि

पाँच क्षेत्रका उत्कृष्ट कृषक समूह पुरस्कृत

ललितपुर । कृषि विभाग अन्तर्गतको कृषि प्रसार निर्देशनालयले पाँच विकास क्षेत्रका एक÷एक वटा उत्कृष्ट कृषक समूहलाई पुरस्कार वितरण गरेको छ ।

पूर्वाञ्चलबाट ताप्लेजुङका कञ्चनजङ्घा बहुउद्देश्यीय कृषक समूह र मध्यमाञ्चलबाट सिन्धुपाल्चोकस्थित जनजागरण कृषक समूह पुरस्कृत भएका छन् । पश्चिमाञ्चलबाट गोरखाको लापा नमूना कृषक समूह, मध्यपश्चिमाञ्चलबाट दाङको जागरुक ताजा तरकारी उत्पादक कृषक समूह र सुदूरपश्चिमाञ्चलबाट कैलालीको जीविका कृषक समूहले उत्कृष्ट समूहका रुपमा पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा पुरस्कृत कृषक समूहले सम्मानपत्रसँगै नगद रु १० हजार प्राप्त गरेका छन् ।

कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले पुरस्कृत कृषक समूह अरूका लागि नमूना बन्नुपर्नेमा जोड दिए । यी कृषकले योभन्दा ठूलो पुरस्कारका लागि थप मिहिनेत गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “थप मेहनत गर्नुभयो भने अर्को वर्षमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारमा समूहका किसान पनि पर्न सक्नुहुनेछ ।”

निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक श्रीधर ज्ञवलीले जिल्ला कृषि विकास कार्यालयहरुका सिफारिशका आधारमा विभिन्न मापदण्ड बनाएर उत्कृष्ट कृषक समूहको छनौट गरिएको जनाकारी दिए ।

वरिष्ठ अर्थ विज्ञ सन्तोषराज पौडेलले कृषि क्षेत्रको विकासमा कृषक समूहको भूमिकाबारे प्रस्ट पारे ।

कार्यक्रममा उत्कृष्ट जिल्ला कृषि विकास कार्यालयका रुपमा मकवानपुर, काभ्रे र नुवाकोटका कार्यालयसमेत पुरस्कृत भएका छन् ।

कार्यक्रममा बोल्दै पुरस्कृत कृषक समूहका पदाधिकारीले पुरस्कारले आफूहरुलाई थप हौसला दिएको बताएका छन् ।