लुम्बिनी

तटबन्ध निर्माणमा ढिलाइ

गुलरिया, बर्दिया । बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् । बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो ।

नदीको चार ठाउँमा तटबन्ध निर्माणका लागि रु १३ करोड बजेट विनियोजन गरिएको छ । गत वर्षदेखि नै शुरु गरिएको तटबन्ध निर्माण कार्य समयमा पूरा हुन नसक्दा गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका हुन् ।

बबई नदी नियन्त्रण र व्यवस्थापनको कार्य प्रगतिका वारेमा जानकारी लिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ र प्रतिनिधिसभा सदस्य सञ्जय गौतमसहितको टोलीले गरेको स्थलगत अनुगमनमा तटबन्ध निर्माणमा भइरहेको ढिलाइका कारण गुलरिया नगरपालिका, कृष्णसार संरक्षण क्षेत्र, पदनाहा, बनियाभार र मगरागाडी उच्च जोखिममा परेका छन् ।

पण्डितपुर, घोरपिट्टा र कुसुम्बाघाटमा तटबन्ध निर्माण भइरहेका छन् । वातावरण प्रभाव मूल्यांकन नभएकोजस्ता बहानाबाजी गरेर संवेदनशील ठाउँको तटबन्ध निर्माणमा ढिलाइ गरेको प्रजिअ रामबहादुर कुरुङवाङले बताए ।

एउटालाई दोष देखाएर आफू पन्छिने प्रवृत्ति हाबी छ, उनले भने, “नदी व्यवस्थापन गर्ने काम आफैँमा चुनौतिपूर्ण हो, अन्तिममा आएर यो नभएर निर्माण भएन भन्नु ठीक होइन ।”