गण्डकी प्रदेश

टुहुरा नाबालकलाई सहयोग

पोखरा । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङ स्थायी बसोवास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पत्तीको मृत्यु भएपछि पोखराको नयाँ बजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विशश र छ वर्षीय विशेषनलाई कोठामा नै पुगी प्रजिअ अधिकारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

केन्द्रीय बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेका अनुसार आपत्कालीन बाल उद्धार कोषमार्फत उक्त रकम र कम्मल (दुई थान) उपलब्ध गराइएको छ ।

राहत सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले विचल्लीमा परेका यी नाबालकको पठनपाठन एवं संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगरले नाबालकद्वय असहाय भएको बताउँदै उनीहरूको पठपाठन एवं जीवनयापनका लागि सहयोग गरिदिन आग्रह गरे ।