सुदूरपश्चिम

सडक निर्माणका लागि मुआब्जा वितरण शुरु

भीमदत्तनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको सडकसँगै बन्ने पुल निर्माणका लागि जग्गाको मुआब्जा वितरण शुरु गरिएको छ । पक्की पुलसँगै बन्ने सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कार्य नहुँदा निर्माण रोकिएको थियो ।

मुआब्जाका लागि सबै प्रक्रिया पूरा गरेर गत शुक्रबारदेखि मुआब्जा रकम वितरणसमेत शुरु भइसकेको महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले बताए ।

उनका अनुसार हालसम्म महाकाली नगरपालिका–१ (महाकाली नदी पारी) र भीमदत्तनगरपालिका–१२ ओदालीका गरी १७ जनाले मुआब्जा रकम लिइसकेका छन् । मुआब्जास्वरुप रु दुई करोड ७८ लाख स्थानीयले बुझिसकेका छन् ।

पुलसँगै नदी वारीपारी गरी करीब ७।६ किलोमिटर सडक चार लेनको बन्नेछ । महाकाली पुल योजना कार्यालयले चालू आर्थिक वर्षको मसान्तसम्म मुआब्जा वितरण गरिने जनाएको छ ।

पुल निर्माणको पहिलो वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक अर्ब रकम विनियोजन गरेको थियो । जसमा रु १० करोड मुआब्जाका लागि छुट्याइएको भए पनि पुल योजना कार्यालयले पुल निर्माणका खर्च हुन नसकेको रकमसमेत मुआब्जा वितरणमा व्यवस्थापन गरेको छ ।
रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा सो निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । यहाँस्थित भीमदत्तनगरपालिका–१२ ओदालीमा गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए ।