गण्डकी प्रदेश

पत्रकार राना बचाऊ अभियान

बागलुङ । ‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित यहाँका पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि उनका शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् । काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब रु १५ लाख खर्च लाग्ने जनाइएको छ । विभिन्न क्षेत्रबाट गरी हालसम्म रु पाँच लाख बढी रकम संकलन भएको छ ।

पत्रकार महासंघ बागलुङ शाखाले शुरु गरेको अभियानबाट रु दुई लाख उठेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । महासंघका कोषाध्यक्षसमेत रहेका रानाको उपचार सहयोगार्थ शाखाले शुरुमा अभियान थालेको थियो । शाखामा रहेको पत्रकार कल्याणकारी कोषबाट समेत रु १० हजार सहयोग गरिएको अध्यक्ष शिरीषले बताए। प्रगतिशिल पत्रकार संघ, नेपाल विद्यार्थी संघलगायतका संस्थाले पनि सहयोग अभियान चलाएका छन् ।

हङ्कङ, जापान, बहराइनलगायतका देशमा पनि आर्थिक संकलन अभियान चलाइएको छ । हङ्कङमा हालसम्म रु एक लाख सहयोग उठेको अभियानकर्मी टीका रानाले जानकारी दिए ।
धेरै कम मानिसमा देखा पर्ने ‘ए–प्लाष्टिक एनेमिया’ (शरीरले रगत उत्पादन नगर्ने) रोगको उपचारमा एक/डेढ महिनाको समय लाग्ने जनाइएको छ । दुई साताअघि अस्पतालमा भर्ना भएका रानाको समस्या एक महिनाअघि निदान भएको थियो । अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेलले रानाको उपचार गरिरहेका छन् । राना बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिकको कार्यकारी सम्पादक हुन् ।