राजनीति

गुटबन्दी नगरौं, एकताबद्ध भएर अघि बढौँः महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तकको आज यहाँ लोकापर्ण गर्दै महामन्त्री कोइरालाले काँग्रेस अप्ठारो स्थितिमा रहेकाले सबैलाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।

पुस्तकबारे उनले भने, ‘‘उमा दिदीलाई बिर्सदा कोइराला परिवार पूर्ण हुँदैँन, उहाँ हाम्रो परिवारको सदस्य हुनुहुन्थ्यो ।”

विराटनगरस्थित कोइराला निवास उमा दिदीबिना अधुरो भएको भन्दै उनले आमाले जस्तै हेरचाह गर्ने अभिभावक गुमाएको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिमा नैतिकता आवश्यक भएको उल्लेख गर्दै वर्तमान सरकारमा नैतिकताको कमी भएको टिप्पणी गरे । डा कोइरालाले उमा दिदीबाट नैतिकता र प्रतिबद्धता सिक्न सकिने भन्दै उनको संर्घषले जीवन हरेस खान नहुने प्रेरणा लिन सकिने बताए ।

पुस्तकका लेखक तथा शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानी उमा शर्माले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष बाहिर नआउँदा धेरैलाई उनीबारे जानकारी नभएको उल्लेख गरे ।

विसं १९९६ मा ललितपुरमा जन्मिएकी उमा शर्माको पुरा नाम उमालक्ष्मीदेवी शर्मा हो । उनको क्यान्सरका कारण २०७३ सालमा निधन भएको थियो । उनले विराटनगरस्थित कोइराला निवासमा बसेर डा शेखर कोइराला, डा शशांक कोइरालालगायतलाई हुर्काएकी थिईन् भने प्रजातन्त्र प्राप्तिको आन्दोलनमा तीन वर्ष जेल जीवन बिताएकी थिईन् ।