प्रदेश 1

सवारी दुर्घटनामा दुईको ज्यान गयो

काठमाडौँ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना५ख ५००८ नंको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बूढीगंगा–३ का ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उपचारका क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालक सप्तरीको सप्तकोसी नगरपालिका–१ का ५१ वर्षीय कुशुमलाल साहलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, रतुवामाई नगरपालिका–५ मा आज ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । को२त ८११५ नंको ट्र्याक्टरले किचेर रतुवामाई नगरपालिका–५ बस्ने मनोज माझीको ४ वर्षीय छोरा बादल माझीको मृत्यु भएको हो ।

बाबुले खेत जोत्नका लागि ट्र्याक्टर लैजाने क्रममा सोही ट्र्याक्टरमा बसेका बादल अचानक तल खसेको र पछाडिको चक्काले किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनापश्चात् बाबु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।