समाचार

संसदीय समितिको अभ्यास शुरु

काठमाडौँ । संघीय संसद् मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ ।

संघीय संसद् सचिवालयमा आज बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको छ ।

सो उपसमितिले समितिको बैठक सञ्चालनको कार्यविधिलगायतका विषयमा प्रतिवेदन तयार पारी शुक्रबार बिहान ११:०० बजे बस्ने बैठकमा पेश गर्नेछ ।

आजको बैठक समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको थियो । प्रतिनिधिसभाको सोमबारको बैठकले संसदीय सुनुवाइ विशेष समिति गठन गरेको हो ।

संविधानको धारा २९२ अनुसार गठन भएको संसदीय सुनवाइ विशेष समितिले संवैधानिक अंगका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूतको संसदीय सुनुवाइ गर्नेछ ।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको पहिलो सुनुवाइ गर्नेछ । गत जेठ २९ गते बसेको संवैधानिक परिषद्को बैठकले जोशीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो ।

संवैधानिक निकायका प्रमुख तथा सदस्य, राजदूत, सर्वोच्च अदालतका प्रधानन्याधीश तथा न्यायाधिशलाई संसद्प्रति जिम्मेवार बनाउन संसदीय सुनुवाइ समितिको भूमिका महत्वपूर्ण मानिन्छ ।

सो समिति राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समिति समेत हो । समितिमा प्रतिनिधि सभाबाट अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट, सुरेन्द्रप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान, पुष्पा भुसाल गौतम, लक्ष्मणलाल कर्ण र राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य हुन्।

यस्तै राष्ट्रिय सभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्रनारायण देव सदस्य हुन् । समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नौ जना, नेपाली काँग्रेसका तर्फबाट चार जना र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट एक÷एक जना सदस्य रहेका छन् ।