प्रदेश 2

महिला तथा बालबालिका भवन उद्घाटन

गौशाला । जिल्ला प्रहरी कार्यालय, महोत्तरीको परिसरमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रको अत्याधुनिक भवनको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।

एशियाली विकास बैंक (एडिबी) को रु एक करोड २८ लाख ७३ हजार ४९ रुपैयाँ सहयोगमा निर्मित १४ कोठे तीनतले महिला तथा बालबालिका सेवा केन्द्रको अत्याधुनिक भवन नेपाल प्रहरीका नायब महानिरीक्षक धिरु बस्न्यातले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक बस्न्यातले अत्याधुनिक सेवा सहितको भवनले जिल्लामा हुने महिला तथा बालबालिका विरुद्धको हिंसा र अपराधको अनुसन्धान, न्यूनिकरण तथा न्यायमा सहयोगी सावित हुने विश्वास व्यक्त गरे ।

सो भवन उद्घाटन कार्यक्रममा संघीय प्रहरी एकाइ कार्यालय, जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक शेखर कोइराला, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायत, एडिबी कोअर्डिनेटर सुलोचना श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंह लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।