लुम्बिनी

खेल्दै सिक्ने केन्द्रको मूलप्रवाहीकरण

नेपालगञ्ज । वैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण गरिँदैछ ।

कार्ययोजना निर्माणमा नेपालगञ्ज उपमहानगरपालिका, बाँके जिल्ला शिक्षा समन्वय इकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको छ ।

‘करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरी विद्यालय बाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिक योजना निर्माण गर्न लागिएको हो’—जिल्ला शिक्षा विकास समन्वय ईकाइका प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगञ्ज उपमहानगरपालिकाको टोल अन्तर्गतको वडा कार्यालयले यसको अपनत्व समेत ग्रहण गरेको छ ।

‘खेल्दै सिक्ने केन्द्र आफनो वडामा रहेकाले अब यो हाम्रो जिम्मेवारीभित्र पनि पर्ने भएकाले यसका लागि आवश्यक सम्पूर्ण व्यवस्था वडा कार्यालयले गर्नेछ’—नेपालगञ्ज उपनपा वडा नं ४ का अध्यक्ष सफिक बेहनाको प्रतिबद्धता छ ।

नेपालगञ्जको वडा नं ४ र ८ मा दुईवटा खेल्दै सिक्ने केन्द्र सञ्चालनमा रहेका छन् । श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले युनिसेफले केन्द्रमा पनि लगानी गर्दै आएको छ, युनिसेफका रामप्रसाद गौतमले बताए ।

केन्द्रमा १० वर्षदेखि १९ वर्ष उमेरका विद्यालय छाडेका तथा नगएका बालबालिका र किशोरकिशोरी विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशीलता, सूचना तथा प्रविधि, आयआर्जन लगायतका विषयमा ज्ञान हासिल गर्दछन् ।