सुदूरपश्चिम

बैँकिङ कारोवारले सदरमुकाममा भिडभाड

बैतडी । जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि सदरमुकाम आएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंकमार्फत हुने गरेको बताउँछन् ।

गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भिड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भिड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताए ।

जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् ।