समाचार

सुटुक्क नेपाल छिर्ने अवैध आप्रवासीलाई कस्तो कारबाही हुन्छ ?

काठमाडौं । विभिन्न बहानामा यतै बस्नेगरी वा नेपालको बाटो प्रयोग गरी विभिन्न देश जानलाई नेपाल आउने अवैध आप्रवासीको सङ्ख्या बढ्न थालेका विवरणहरू सार्वजनिक भएका छन् ।

हालैका दिनहरूमा नेपाल आएका केही अवैध आप्रवासी पक्राउ परेका छन् भने केहीलाई अध्यागमन विभागले निष्काशन गरेको छ ।

केही विदेशी नागरिकलाई निश्चित समयसम्म नेपाल आउन नपाउनेगरी फिर्ता पठाइएको छ ।

गत साता अफ्रिकी मुलुक एरिट्रेयाका नौ जना आप्रवासीलाई नियन्त्रणमा लिइएको थियो ।

विशेषतः अफ्रिकी मुलुकहरूबाट अवैध रूपमा आप्रवासीहरू आउने गरेको पाइएको अध्यागमन विभागको भनाइ छ ।

यसरी नेपालमै बस्नेगरी वा विदेश जाने बाटोका रूपमा नेपाल आउने अवैध आप्रवासीलाई अध्यागमन कानुनअनुसार कारबाही हुने सरकारी अधिकारी बताउँछन् ।

कस्तो कारबाही हुन्छ ?

नेपालको अध्यागमन कानुन मिचेको पाइएमा कसुर हेरी सजाय हुने अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।

उनका अनुसार अदालतको अनुमति लिएर अध्यागमन अधिकृतले अवैध आप्रवासीलाई २५ दिनसम्म थुनामा राख्न सक्नेछ ।

यसको जानकारी भने अध्यागमन अधिकृतले महानिर्देशकलाई दिनुपर्ने प्रावधान छ ।

यसैगरी अवैध आप्रवासीलाई नेपालबाट समय तोकेर वा नतोकी निष्काशन गर्न सक्ने काफ्लेले बताए ।

अध्यागमन कानुन उल्लङ्घन गर्दै जाली राहदानी तथा कागजात पेस गरेर नेपाल प्रवेश गर्ने अवैध आप्रवासीलाई भने ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद हुनसक्छ । अवस्था र अपराधको प्रकृति हेरेर यस्तो निर्णय गरिने उनले जानकारी दिए ।

पाँच वर्ष कैद

नेपालको अध्यागमन कानुन उल्लङ्घन गर्दै जाली राहदानी तथा कागजात पेस गरेर नेपाल प्रवेश गर्ने अवैध आप्रवासीलाई भने ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद हुनसक्छ ।

अवस्था हेरेर यस्ता आप्रवासीलाई दुवै सजाय समेत हुनसक्ने काफ्लेले बताए ।

काफ्लेका अनुसार नेपाल आउने विदेशीका लागि नेपालले नौ थरी प्रवेशाज्ञा (भिसा) जारी गर्दै आएको छ ।

यसरी दिइएको भिसा जुन प्रयोजनका लागि हो त्यसैका लागि विदेशी नागरिक नेपाल बस्न पाउँछन् ।

कसैले एउटा प्रयोजनका लागि भिसा लिएर अर्कै काम गरि बसेमा तिनलाई पनि अवैध आप्रवासी मानिने उनले बताए । -बिबिसीबाट