साहित्य

अरूणकुमार सुवेदीको “जीवनयात्रा” बजारमा

काठमाडौं । लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय तथा भुगर्भविद अरूणकुमार सुवेदीको आत्मकथा “जीवनयात्रा” सार्वजनिक भएको छ । घोष्ट राईटिङ नेपालद्धारा प्रकाशित “जीवनयात्रा”किताब भुगर्भशास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टङ्क पन्त, पत्रकारद्वय गुणराज लुइँटेल र तीर्थ कोइराला र पुर्वान्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा सार्वजनिकिकरण गरेका हुन् ।

किताबमाथि बोल्दै भुगर्भशास्त्रका प्राध्यापक तारानिधि भट्टराईले भने, पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन । यो पुःतक मात्र होइन, आगाको फिलिङ्गो हो । वहाँको व्यक्तित्व, ओज र सोचका आधारमा नेपालमा यत्तिको होनहार मान्छे पनि छ र भन्ने प्रश्नचिह्न खडा हुन्छ । उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुँदो रहेछ भन्ने खुलासा भएको छ । पुस्तकमा खानीको बारेमा आधारभूत जानकारी मात्रै नभएर नेपालमा कहाँकहाँ कस्ताकस्ता खानी छन् र हामी कति धनी छौँ भन्ने व्याख्या गरिएको छ ।

त्यसैगरी अर्का वक्ता पत्रकार गुणराज लुइँटेलले भने, यस किताबलाई तथ्यगत रूपमा हेर्दा आधिकारिक दस्तावेजजस्तो लाग्छ, अन्यथा यी कुराहरू केवल उहाँका व्यक्तिगत अनुभवका रूपमा मात्र सीमित हुन्थे । यहाँ माझकिरातको एउटा सभ्यताको नालिबेलीसमेत आएको छ । सँगसँगै वन्यजन्तु संरक्षणमा पनि मान्छेलाई सचेत गराएका छन् ।

भूत, झाँक्रीजस्ता हाम्रा पुराना सभ्यता र संस्कृतिका कुरा पनि नयाँ र अनुसन्धेय ढङ्गले आएका छन् । हामीले बिर्सिसकेका ग्रामीण शब्द र प्रथाहरूका बारेमा पनि पाठकले नयाँ संवाद अनुभव गर्न सक्छन् ।
यसर्थ यो किताब माझकिरातमा बस्ने मान्छेहरूको साझा कथा हो । सुरूमा लेखक कम्युनिष्ट गतिविधिमा समेत संलग्न रहेको तथा नाटककार तथा लेखक अभि सुवेदी तथा भाषाविद् बल्लभमणि दाहालसँगका प्रसङ्ग पनि किताबको गहना भएर आएका छन् ।

किताबमाथि बोल्दै पत्रकार तीर्थ कोइरालाले भने, ठाउँ विशेषले जाति निर्धारण हुन्छ भन्ने देखाउँछ । यश किताबमा अरुणकुमार लिम्बू सुवेदीको व्यक्तित्व निर्माण भएको छ । सुवेदीको व्यक्तित्व हेर्दा केही समयपछि जन्मिएका भए देश परिवर्तनका लागि गतिलो आधार बन्न सक्थे ।

किताबमा उनी सिनेमाका नायक जस्ता लाग्छन् । यश किताबमा तीथिमितिमा ख्याल गरिएको छैन, ठाडो भाषा छ । यस्ता सामान्य कमजोरीबाहेक किताबले देशको आत्माको खोजी गरेको छ ।

राजादेखि विषयविज्ञ र विद्वानसम्मको सरसङ्गत गरेका सुवेदीले जहाँ पनि आफ्नो हक्की स्वभावको परिचय दिएका छन् । उनले पूर्व लिम्बूवानको हिरादेखि दार्चुलासम्मको हिराको खोजी गरिएको छ । खानी र भुगर्भका दृष्टिले देशको समृद्धिको ढोका खोलेको छ ।

किताबमाथि प्रकाश पार्दै पूर्वान्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर क्षेत्रीले भने, मलाई त किताब पढेपछि अरूण अजिङ्गरजस्तै लाग्यो । उनको व्यक्तित्व खोलोजस्तै ओह्रालो बगिरहने खालको रहेछ भन्ने किताबमा स्पष्ट ढङ्गले आएको छ ।

अरुणले जीवनमा कठोरभन्दा कठोर निर्णय पनि गरेको देखिन्छ । साहसले मान्छेलाई अगाडि बढाउँछ भन्ने प्रेरणा नै किताबको मुख्य सन्देश हो । वरिष्ठ पत्रकार टंक पन्तले भने, नयाँ पुस्तालाई एउटा नयाँ खोज र अनुसन्धानको लागि पुस्तकले महत्वपूर्ण भुमिका खेल्न सक्ने छ । पुस्तक लेखक अरुण कुमार सुवेदीले भने, किताब राष्ट्रको लागि सुम्पेको छु । किताबाट मैले जिग्यास्या जगाईदिने हो अबको नयाँ पिडिंले पुस्तकमै आधार रहेर नयाँ खोज गर्न सक्ने छ ।