गण्डकी प्रदेश

टोड्केमा ३ करोडको लागतमा रिसोर्ट बन्दै

बेनी, म्याग्दी । घोडेपानी र पुनहिलपछिको सम्भावनायुक्त टोड्केमा पर्यटकलाई लक्ष्य गर्दै ३ करोड रुपैयाँको लागतमा अत्याधुनिक सुविधासहितको रिसोर्ट बन्ने भएको छ ।

जिल्लामा छोटो दूरीको आर्कषक गन्तब्यको रुपमा चिनिएको टोड्केमा स्थानीयवासीको सक्रियतामा सञ्चालित टोड्के हिल्स रिर्सोट प्रालिले अत्याधुनिक सुविधासहितको रिसोर्टका लागि पूर्वाधार निर्माणको काम शुरु गरेको छ ।

मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सङ्गम स्थलमा पर्ने टोड्के, मालिका मन्दिर, धौलागिरि सेन्चुरी पदमार्गमा आवतजावत गर्ने पर्यटकलाई लक्ष्य गरी रघुगंगा गाउँपालिका–५ झीँमा रिर्सोट, सभाहल, अर्गानिक तरकारी खेतीको काम दु्रत गतिमा भइरहेको छ । समुद्री सतहदेखि झण्डै २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा करिव साढे दुई रोपनी जमीनमा १० वटा सुविधासम्पन्न कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ्ग हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, २० वटा टेन्ट हाउसको निर्माण कार्य भइरहेको हिल्सका अध्यक्ष मीन बहादुर पाइजाले बताए ।

‘बर्खाको समयमा पनि काम रोकिएको छैन, एक वर्षभित्र रिर्सोट सञ्चालन गर्ने गरी काम गरिरहेका छौं,’ पाइजाले भने । उनका अनुसार पर्यटकलाई आवश्यक पर्ने अग्र्यानिक तरकारीका लागि करीव साढे ६ रोपनी जमीनमा तरकारी खेतीसमेत शुरू गरिएको छ । टोड्केमा पुग्ने पर्यटकको सुरक्षाका लागि रिर्सोट आसपासका क्षेत्रमा १८ वटा सिसी क्यामेरा जडान गर्ने योजना अन्तर्गत हाल चार वटा सिसी क्यामेरा र हेलोजिन लाइट जडान गरिएको छ ।
वर्षाका कारण विद्युत् आपूर्तिमा समस्या भएपछि प्रालिले जेनेरेटर जडान गरी कामलाई तीव्रता दिइएको प्रालिका सञ्चालक मोहन खत्रीले बताए ।
‘अहिलेसम्म प्रचारप्रसारमै केन्द्रित भयौं, अब रिर्सोटसहितको पूर्वाधारले पर्यटकलाई आकर्षित गर्नेछौं,’ खत्रीले भने । टोड्के क्षेत्र विकास कोषका निवर्तमान अध्यक्षसमेत रहेका खत्रीले जिल्लाको महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थलको सूचीमा परेको टोड्केको भ्रमणमा आउने पर्यटकलाई न्यूनतम पूर्वाधारको समेत सुविधा नहुँदा समस्या हुने गरेको र आवश्यकताअनुसार लगानी थप्ने योजना रहेको बताए ।

हरेक वर्ष पूर्वाधार विस्तारको लक्ष्य रहेको प्रालिले जनाएको छ । लगानीमा स्थानीयवासीलाई प्राथमिकता दिइएको छ । काठमाडौँ र पोखरामा रहेका ट्रेकिङ्ग एजेन्सीहरुसँग समेत सहकार्य भइरहेकाले सञ्चालनमा आएपनि पर्यटकको कुनै कमी नहुने प्रालिको दावी छ । टोड्केमा पुग्ने पर्यटकलाई अधिकतम सेवा सुविधाका साथै अग्र्यानिक उत्पादन खुवाउने लक्ष्य अनुसार रिर्सोटका लागि प्रालिका अध्यक्ष पाइजाले आफ्नो व्यक्तिगत जमीन तरकारी खेतीका लागि उपलब्ध गराएका छन् ।

मंगलाको कुहुँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड बनेपछि माघ र फागुन महिनामा लालीगुराँसले राताम्मे जंगलमा रमाउन, जंगल सफारी, वनभोज खान मानिसहरु त्यहाँ पुग्ने गरेका छन् । त्यस्तै, प्यूठान जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखासमेत टोड्केमा रहेको छ । आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गरेका धार्मिक विश्वास रहेको छ ।

प्राचीन कालमा विभिन्न ऋषि महर्षिहरुले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशुली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशाला लगायतका केही संरचनाहरु निर्माण गरेपछि हिन्दु धर्मावलम्बी समेत त्यहाँ पुग्ने गरेका छन् ।

प्युठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरी र जन्मेको छैठौं दिनदेखि आमाको स्तनपान नगरेका हंशानन्द गिरीले तपस्या गरेको क्षेत्र भएकाले पनि स्वर्गद्वारी आश्रमलाई आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । अठार रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ (काठका चप्पल), शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । धार्मिक र पर्यटकीय क्षेत्र भएकाले पनि स्थानीयवासीले ठू्लो लगानीमा रिर्सोट सञ्चालन गरेको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष ताराप्रसाद आचार्यले बताए ।

‘यहाँ धेरैै सम्भावना धेरै छ, पर्यटकले चाहेमा पैदलमार्गबाट समेत टोड्के पुग्न सकिन्छ,’ आचार्यले भने । बेनी, मालिका र मंगला गाउँपालिकाबाट समेत पूर्वाधार विस्तारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार टोड्केबाट धौलागिरि हिमाल, घना जंगलको बीचबाट मालिका मन्दिर हुँदै पश्चिम म्याग्दीतर्फ जान सकिन्छ । स्थानीयवासीले दुईपटक चन्दा संकलन गरी गुराँस महोत्सवको आयोजना गरेपछि चर्चामा आएको टोड्केमा पूर्वाधार विस्तारमा समेत श्रमदान गरेका थिए ।

चालु आर्थिक वर्ष २०७४/७५ मा पर्यटन विभागबाट ३० लाख रुपैयाँको बजेटबाट बेनी–अर्थुङ्गे–गुफा–पुलहाश्रम–ढोल्ठान–जगन्नाथ–टोड्के–मालिका हुँदै विम पुग्ने पदमार्ग निर्माण भइरहेको छ । टोड्केमा गतवर्ष पर्यटन बोर्डबाट प्राप्त ३४ लाख रुपैयाँको बजेटबाट पदमार्ग र गोलघर (प्रतीक्षालय) निर्माण गरिएको छ । टोड्केमा पर्यटकको बसाइ न्यूनतम एक दिन लम्ब्याउन पार्क, हाइकिङ्ग, भ्यूटावर लगायतका पूर्वाधार विस्तारमा समते टोड्के क्षेत्र विकास कोषले योजना बनाइरहेको छ ।