प्रदेश 2

संघीयताको विकासका लागि राससको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको संस्थागत विकासका लागि राष्ट्रिय समाचार समितिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल नेतृत्वको टोलीको भेटघाटका अवसरमा सो कुरा उनले बताए। राष्ट्रिय समाचार समितिको विकास र उन्नयनका लागि प्रदेश सरकार सहयोगी र सकारात्मक रहेको छ भन्दै उनले राससको विकासमा प्रदेश सरकारको सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघीय शासन प्रणालीको स्थायित्व र दिगो विकासका लागि संघीय र प्रदेश सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियताको आवश्यकता उनले औल्याए ।

संघीय सरकारको सफलता प्रदेश सरकारको सफलतामा निहित रहेको चर्चा गर्दै उनले प्रदेश समृद्धिबिना संघ र मुलुकको विकास र समृद्धि हुन सक्दैन भने । यथास्थितिवादी सोच र चिन्तनबाट मुलुकको समृद्धि हुन नसक्ने भएकाले प्रक्रियागत सुधार गरी नयाँ सोचका साथ सबै अघि बढनुपर्ने धारणा उनले राखे ।

समितिका अध्यक्ष श्यामलले राससको विकास, संरक्षण, संवद्र्धन र संघीयता अनुरूप रूपान्तरणमा प्रदेश सरकारको सहयोग र स्वामित्व ग्रहणबारे ध्यानाकर्षण गराए ।

राससलाई संघीयताअनुरूप रूपान्तरणमा संघ र प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उनले राससलाई प्रदेशको जनतासँग जोडने, नयाँ कार्ययोजनासहित गन्तव्यमा प्रदेश सरकारको भूमिका र सहयोगका लागि आग्रह गरे ।