गण्डकी प्रदेश

धिमे र बाँसुरी बाजाको संरक्षण अभियान

बेनी, म्याग्दी । सदरमुकाम बेनीमा नेवार समुदाय परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा जुटेका छन् । नेवार समुदायका युवाले पुराना कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेको नेपाल भाषा मंका : खलअन्तर्गतको मैजुः खलले शुभकार्यमा बजाइने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउन बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालीम सञ्चालन गरेको छ ।

युवापुस्ता विदेश पलायन हुन थालेपछि पुराना बाजाको प्रयोग घट्दै जान थालेपछि पुराना पुस्ताले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण र बाजा बजाउने सीपको क्षमता विकासका लागि तालीमसमेत प्रदान गरिएको छ । बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लोपोन्मुख कला र संस्कृतिको संरक्षण गर्न आवश्यकताअनुसार सहयोग गर्ने बताउँछन् ।

“युवापुस्तालाई पुराना सीपको हस्तान्तरणले समेत संरक्षणमा सघाउँछ”, श्रेष्ठले भने । बेनीबजारका कला, संस्कृति र सम्पदाको संरक्षणबाट जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल भाषा मंकाः खलःका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वैदेशिक रोजगारी र बसाइँ सराइका कारण संकटमा परेको परम्परागत संस्कृतिको संरक्षणको आवश्यकता रहेको बताए ।