समाचार

फुजेल घटनाः नुरप्रसाद अदालतमा नआए पनि अब प्रक्रिया अघि बढ्छः न्यायाधीश शर्मा

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दा फैसलाको प्रक्रियामा बाह्य दबाब नरहेको सम्बद्ध न्यायाधीशले बताएका छन् ।

चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले मुद्दाको अंग पु¥याउनका लागि समय लागेको भएपनि कुनै पनि खालको बाह्य दबाब नरहेको बताए।

अदालतले आज यहाँ आयोजना गरेको अन्तरकृया कार्यक्रममा उनले जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाइएकोमा उपस्थित नहुँदा समय लिएको बताए । उनले भने, “उजुर गर्ने मान्छेलाई खोजी गरिरहेका छौँ, मुद्दा चलाउनेलाई ल्याइदेऊभन्दा राज्यले ल्याउँदैन ।”

जाहेरवाला नुरप्रसाद नेपालमा भए कहाँ र विदेश भए कहाँ गएका हुन् राज्यलाई जानकारी हुनुपर्ने उनको भनाइ थियो । हरेक मुद्दाको फैसला कानून सँगसँगै विवेक पनि प्रयोग गर्नुपर्ने भन्दै उनले मुद्दाका वादी प्रतिवादीलाई आफ्ना कुरा अदालतसमक्ष राख्ने मौका दिनुपर्ने बताए ।

यो घटना २०६१ सालमा भएर २०७० सालमा अदालतमा फाइल भएको भन्दै उनले गम्भीर प्रकृतिको भएका कारणले समय लिएको बताए । अदालतले २०७४ फागुन १३ गते जाहेरवाला नुरप्रसादलाई अदालतमा झिकाउन आदेश दिएको थियो । तर नुरप्रसाद हालसम्म पनि अदालतको सम्पर्कमा छैनन् । नुरप्रसाद अदालतमा नआए पनि अब प्रक्रिया अघि बढ्ने न्यायाधीश शर्माले बताए ।

आउँदो साउन २० गतेका लागि पेशी तोकिएको छ । सोही मितिबाट बहस प्रक्रिया अगाडि बढ्ने उनले बताए । सोही मुद्दाका एक आरोपी छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । एसएलसी परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

लामो समयसम्म कारवाही नभएपछि कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए। उनीहरु अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजुरीबारे अनुसन्धान शुरु गरेको थियो । उजुरीमा संलग्नमध्ये केहीलाई समाएर अनुसन्धान गरी मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन ।

नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो ।

सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्त पनि फरक फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधारण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए । सो मुद्दाका एकजना अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशअनुसार उनी आइतबारमात्रै सर्वोच्च अदालतसमक्ष हाजिर भएका हुन् । अदालतले हिजो नै उनलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरेको छ ।

यो मुद्दा हालसम्म पाँचजना न्यायाधीशले हेरिसकेका छन् । यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालीप्रसाद अधिकारी, ‘भीमसेन’ भन्ने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको हो ।