मनोरञ्जन

नेपालकै मोडल प्रचार गर्न लायक

काठमाडौँ । समुदायको नेतृत्व र स्थानीय स्रोत परिचालन गरेर गरिने विकासका नेपाली मोडेलहरू प्रचारको अभावमा छायाँमा परेको कुरा विकासविज्ञहरूले बताएका छन् ।नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आइतबार राजधानीमा आयोजित एक छलफल कार्यक्रममा उक्त सन्दर्भ उठाइएको हो ।

‘समुदायको नेतृत्वमा स्थानीय विकास : के, किन र कसरी ?’ भन्ने विषयमा विकासविज्ञ राजबहादुर गिरीले एक कार्यपत्र प्रस्तुत गर्दै भने, “भारतलगायत विभिन्न विकसित मुलुकले विकासका नयाँ नयाँ नामका मोडेल विकास गरिरहेका छन्, तर नेपालका परम्परागत दिगो विकासका मोडेलहरूको उचित अभिलेख, अध्ययन र प्रचारप्रसार हुन नसक्दा अझै पनि हामी बाहिरी ज्ञानमा भर पर्नुपरेको छ ।” नेपालमा दातृ निकायहरूको उपस्थिति बढ्दै जाँदा हाम्रा परम्परागत ज्ञान, चलन र संस्कृतिमा प्रभाव पर्दै गएको कुरा पनि उनले बताए ।

आफ्ना टिप्पणी राख्दै विकासविज्ञ तथा नेपानका अध्यक्ष चेतनाथ कँणेलले स्थानीय जनताको समग्र क्षमता विकास भएमा मात्र विकासको नेतृत्व पनि उनीहरूले नै दिन सक्ने र स्थानीय स्रोतमा आधारित संस्कृतिप्रधान नेपालको सहभागितात्मक विकास प्रक्रिया र पद्धतिका बारेमा थप अध्ययन, अभिलेखीकरण र प्रकाशन गर्ने कार्यमा सम्पूर्ण विकासकर्मीले जोड दिनुपर्ने कुरा उल्लेख गरे ।

विकासविज्ञहरू फटिक थापा, गोविन्द पौडेल, रुपा बस्नेत, डा. विनोद भट्ट, ब्रह्मध्वज गुरुङ, छिङ्लमु शेर्पा, गोपाल तामाङ, तोया गौतम, एकराज भण्डारी बिना गोलेलगायतले सो अवसरमा आफ्ना विचार र अनुभव राखेका थिए ।

पाल्पाको मदनपोखरा, रामेछापको गोल्माटार, कास्कीको घान्द्रुक, स्याङ्जाको सिरुबारी, इलामको श्रीअन्तु, धनुषाको मधुबासाजस्ता स्थानीय सहभागीमूलक विकासका नमूनाहरूका बारेमा थप अध्ययन गरी आफ्नै विकासको मोडेल विश्वसामु प्रचार गर्नमा नेपाली विकासकर्मीहरू चुकेको कुरा पनि उनीहरूले उठाएका थिए । साथै, नेपानजस्तो विकासकर्मीहरूको राष्ट्रिय नेटवर्क संस्थाले त्यस्तो काममा विशेष नेतृत्व लिनुपर्ने कुरा पनि सहभागीले सुझाएका थिए ।

पुस्तक विमोचन

सोही अवसरमा विकासविद् दीपकराज चापाको विकाससम्बन्धी आलेखहरू सङ्गालिएको पुस्तक ‘पार्क रेञ्जरदेखि पार्किन्सनसम्मको यात्रा’ को लोकार्पण पनि गरिएको थियो ।

सन् १९८६ देखि २०१८ सम्मको करीब ३२ वर्षको अवधिमा लेखिएका २८ वटा विकासमूलक लेख त्यस सङ्ग्रहमा समेटिएको कुरा प्रकाशक संस्था नेपानका अध्यक्ष एवं पुस्तकका सम्पादक कँणेलले जानकारी गराए ।

विगतमा इसिमोडका समेत कन्सल्टयाण्ट रहनुभएका नेपानका आजीवन सदस्य ७२ वर्षे लेखक चापा (चापागार्इं) हाल पार्किन्सन रोगले पीडित छन् ।