पर्यटन/संस्कृति

आङ्दिममा होमस्टे सञ्चालनको पहल

तेह्रथुम । छथर गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आङ्दिमको डङ्डङेस्थित शेर्पा बस्तीमा होमस्टे (घरवास) कार्यक्रम सञ्चालन हुने भएको छ । शेर्पा समुदायको बाहुल्यता रहेको डङ्डङे टोलमा होमस्टेको व्यावसायिक प्रवद्र्धन गर्न गाउँपालिकाले पहल थालेको हो ।

गाउँपालिकाले उक्त बस्तीका बासिन्दालाई होमस्टे निर्माण र सञ्चालनसम्बन्धी तालीमसमेत प्रदान गरेको छ । गाउँपालिकाको पर्यटन विकासका लागि विशेष कार्ययोजना बनाएर पहिलो चरणमा तालीम सञ्चालन गरी होमस्टे चलाउन टोलवासीलाई प्रोत्साहन गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

“ग्रामीण पर्यटनको सम्भावनाको खोजी गर्ने प्रयत्न गरिएको छ,” उनले भने, “यहाँको कला, संस्कृति र वेशभूषा नै पर्यटन प्रवद्र्धनको मुख्य आधार हुन् ।” शेर्पा टोललाई होमस्टेका रुपमा विकास गर्न यस वर्ष रु एक लाख ५० हजार खर्च गरिएको सो गाउँका अगुवा लाक्पाछुती शेर्पाले बताए ।

गाउँपालिकाले स्थानीयवासीलाई तीनदिने होमस्टे सञ्चालनसम्बन्धी तालीम दिएको हो । सो तालीममा गाउँका २७ महिला र पुरुषले सहभागिता जनाएका सो गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।