गण्डकी प्रदेश

गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौरसँग जोड्ने सडक निर्माण भएको छ ।

चालू आर्थिक वर्ष २०७४/७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समेत जुटाएर करीब छ किलोमिटर सडक निर्माण गरेका हुन् । अर्मनको पोक सातबिसे तोरीडाँडा खर्क हुँदै ३ नम्बरको वडा कार्यालय जोड्ने नमूना सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बलराम सापकोटाले जानकारी दिए ।

उहाँका अनुसार, सडक निर्माणमा समुदायको तर्फबाट रु छ लाख ५० हजार बराबरको श्रमदान गरिएको छ । गाउँपालिकाले नमूना सडक निर्माण गर्ने उद्देश्यले विनियोजन गरेको बजेटबाट ट्याक निर्माण भएसँगै वडा नम्बर ३ र ४ बरंजाका स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्न सहज भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए।

यस सडक निर्माण नहुँदासम्म बरंजाका स्थानीयले गाउँपालिकाको केन्द्र बाबियाचौर आउनको लागि बरंजा, पखेर, तातोपानी हुँदैको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । छोटो र स्तरीय सडक निर्माण भएपछि बरंजावासीलाई गाउँपालिका पुग्न झण्डै ४५ मिनेटको बाटो छोटिएको छ ।

गाउँपालिकाबाट यसै वर्ष साम्तुङ झाँझेपानी हुँदै किमचौर सडक, पोक, किमचौर सडक पूर्णगाउँ, टोड्के सडकलाई समेत स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आगामी वर्षलाई सडक वर्षका रुपमा मनाउने नीति लिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताए ।