गण्डकी प्रदेश

अन्नपूर्णका किसानलाई औजार र बिरुवा हस्तान्तरण

बेनी, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्तरुपमा किसानलाई उक्त औजार आइतबार हस्तान्तरण गर्नुभयो । कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै पहिलो पटक छ थान कोदो चुट्ने मेसिन, १४५ थान प्लाष्टिक केट, १२ थान मकै छोड्याउने औजार, २३ वटा सुन्तला टिप्ने भ¥याङ, नौ वटा स्प्रे ट्यांकी वितरण गरिएको जानकारी दिए ।

त्यस्तै, ४८ थान सिबेचर, ४८ थान आरी, चार हजार सुन्तलाका बिरुवा र एक हजार कागतीको बिरुवा वितरण गरिएको छ ।

विद्यालयलाई गाउँपालिकाको २५ लाख

म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ ।

नतिजा राम्रो र विद्यार्थी संख्या भए पनि सरकारबाट आधारभूत र मावि तहमा कुनै पनि कोटा प्राप्त नगरेका विद्यालयका शिक्षकको तलबभत्तामा खर्च गर्ने गरी आगामी आव २०७५÷७६ का लागि रु २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

उनका अनुसार आधारभूत र मावि तहमा सरकारी दरबन्दीको अभावका कारण स्थानीयले चन्दा संकलन, सामुदायिक बनको घाँस, दाउरा बेचेर, महायज्ञलगायत विभिन्न गतिविधि सञ्चालन गरी शिक्षकको तलब जुटाइरहेको अवस्थामा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकलाई लक्षित गरी बजेट विनियोजन गरिएको हो ।