स्वास्थ्य

अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

पथरी, मोरङ । हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।

अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो ।

सम्मेलन फागुन २ र ३ गते हुनेछ । सम्मेलनमा जापान, सिंगापुर, डेनमार्क, पाकिस्तान, श्रीलंका, भारतलगायत देशका दर्जनौँ अर्थोपेडिक सर्जनको सहभागिता रहने छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका अध्यक्ष डा नवीन कर्णका अनुसार प्रदेश १ को मेची र धरानमा कार्यरत थप हाडजोर्नीका विशेषज्ञ चिकित्सकलाई संलग्न गराएर प्रदेशस्तरीय एशोसिएशन गठनको समेत तयारी भइरहेको छ ।

यसैगरी हाडजोर्नीको उपचारमा संलग्न विराटनगरका विशेषज्ञ चिकित्सकको भेलाले ११ सदस्यीय अर्थोपेडिक एशोसिएशन विराटनगर गठन भएको छ । केन्दीय अध्यक्ष डा बुलन थापाको उपस्थितिमा आयोजित भेलाले डा कर्णको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष डा बस्नेतसहित उपाध्यक्षमा डा प्रकाश सिटौला, कोषाध्यक्षमा डा रञ्जीत झा, सचिवमा डा नवीन सुवेदी र सहसचिवमा डा योगेन्द्र गुप्तालाई मनोनयन गरेको छ ।

त्यसैगरी सदस्यमा डा सञ्जय साह, डा सन्तोष थापा, डा सुमन कुँवर डा विभूति मिश्रा, डा रवीन श्रेष्ठ रहेका छन् ।