स्वास्थ्य

सहकार्य गरेर अघि बढौँः स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनसंख्या नियन्त्रणका लागि तय गरेको लक्ष्य पूरा गर्न सहकार्य आवश्यक भएको बताएका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा नेपाल परिवार नियोजन संघले गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री अर्यालले परिवार नियोजनका क्षेत्रमा सरकारको लगानी पर्याप्त नभएकाले साझेदार संस्थासँगको सहकार्य आवश्यक भएको बताए ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले परिवार नियोजनमार्फत जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम थप गरिने बताए ।

नेपालको पछिल्लो जनसांख्यिक सर्वेक्षणले बालविवाह र सानै उमेरमा गर्भवतन गर्नेको संख्या उच्च देखिएकाले त्यसको समाधान गर्नु चुनौतीपूर्ण भएको उनले बताए । सरकारले जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ ।

नेपाल परिवार नियोजन संघका अध्यक्ष छत्रबहादुर गिरीले जनसंख्या नियन्त्रण र व्यवस्थापन गर्न सरकारले प्रतिबद्धतासँगै लगानी पनि बढाउनुपर्ने बताए । “हामीले सरकारसँग बजेटको माग गरेका छौँ, आश्वासन आएको छ, अझै प्रभावकारी कार्यक्रम गर्न सकिने विश्वास छ,” उनले भने ।

जनसंख्याका मुद्धालाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । यस वर्ष ‘परिवार नियोजन मानव अधिकार’ नाराका साथ विश्वभर यो दिव मनाउन लागिएको छ । विश्वभर बढ्दै गएको जनसंख्याले जीवनयापन, स्रोतसाधनको अभाव तथा रोगब्याधीसँगै जीवनशैलीलाई समेत असर पार्न थालेपछि व्यवस्थित परिवारको कल्पना गर्न थालिएको हो ।