अन्तर्राष्ट्रिय

वर्षाका कारण कम्तीमा ५७ जनाको ज्यान गयो

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।

जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण ५७ जनाको ज्यान गएको बताएको छ । केही दिन यताको अविरल बाढी र त्यसका कारण आएको पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

आइतबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ प्रहरी, अग्निनियन्त्रक र सेना पनि परिचालन गरिएको छ ।

जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ ।

त्यसैगरी शनिबारदेखि आइतबार अपरान्हसम्म पनि हिरोसिमा, क्योटोलगायतका शहरमा भारी वर्षा भएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको न्युनिकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकायलाई आदेश दिएका छन् ।