बाग्मती

विपद्मा उद्धारका सामान अभाव

ललितपुर । ललितपुर महानगरपालिकासँग विपत्का समयमा उद्धारका लागि अत्यावश्यक सामग्री छैन । जुनसुकै समयमा विपत् आउन सक्ने भए पनि हम्मर र गलबाहेक अरु सामग्री केही पनि नभएको महानगरीय नगर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रमुख कदमलाल महर्जन बताउँछन्, “विपत्का समयमा ‘सर्च र रेस्क्यु’ का लागि धेरै सामग्री आवश्यक पर्छ कहिलेकाहीँ साना संरचना त कहिले सिङ्गो घर नै भत्काएर उद्धार गर्नुपर्छ । यस्तो बेला भौतिक सम्पत्तिभन्दा मानव शरीर बचाउनेमा सबैको ध्यान केन्द्रित हुन्छ । हामी समयमै घटनास्थल पुग्दा पनि आवश्यक उपकरणको अभाबमा उद्धारमा खटिन कठिन हुँदै आएको छ ।”

महानगर प्रहरीले लामो समयदेखि उपकरण आवश्यक भएको व्यवस्थापनलाई जानकारी गराउँदै आएको र महँगो सामग्री पछि थप्दै गए पनि तत्कालका लागि अत्यावश्यक सामग्री किन्न सुझाइएको जानकारी दिँदै उनी भन्छन्, “हामीले जनप्रतिनिधिलाई आवश्यक सामग्री थप गर्न भनिरहेका छौँ ।”

स्थानीय शासन सञ्चालन ऐनले न्यायिक समितिको निर्णय कार्यान्वयनको जिम्मेवारीसमेत नगर प्रहरीलाई दिएको छ । नियमविपरीत घरटहरालगायतका संरचना भत्काउने, रुख काट्नेलगायतका काम नगर प्रहरीले गर्नुपर्छ तर ती कामका लागि सामान्य उपकरणसमेत महानगरपालिकासँग छैन ।