कृषि

महाशीलाका कृषकलाई विद्युतीय मिल वितरण

फलेवास, पर्वत । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ ।

थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको हो । धान कुट्न, कोदो, मकै, जौ, फापर, गहुँजस्ता खाद्यान्न बाली पिस्नका लागि प्रयोगमा ल्याउन सकिने उक्त मिलप्रति पछिल्लो समय ग्रामीण क्षेत्रका बासिन्दाको आकर्षणसमेत बढ्दै गएको छ ।

गाउँगाउँमा विद्युत् विस्तार भएसँगै डिजेलबाट सञ्चालन हुने मिल भने पूर्णरुपमा विस्थापित भएका छन् । घरको पिँढीमै राखेर कुटनीपिसानी गर्न सकिने उक्त मिल यस वर्ष महाशीलाले १२ वटा वितरण गरेको छ । अहिले उक्त मिलको बजार मूल्य प्रतिगोटा रु ३८ हजार रहेकामा ढुवानी खर्चसहित कृषकलाई रु १९ हजारमा उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए ।

उक्त गाउँपालिकाले यसअघि ५० प्रतिशत अनुदानमा कृषकलाई मिनिपावरटिलर (यान्त्रिक हलो) पनि वितरण गरेको थियो । चालु आर्थिक वर्षको बजेटले गाउँपालिकाका छवटै वडाका बासिन्दा लाभान्वित हुने गरी २४ वटा मिनिपावरटिल वितरण गरेको थियो ।

मोदीको बजेट झण्डै साढे ३६ करोड

पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७५/०७६ का लागि रु ३६ करोड ३५ लाख ५० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गत आवमाभन्दा झण्डै रु एक करोड कमको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ रु तीन करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने पूँजीगततर्फ रु ११ करोड २२ लाख २५ हजार विनियोजन गरिएको छ ।