पर्यटन/संस्कृति

सीप, कला र संस्कृतिका धनी विश्वकर्मा समुदाय

दाङ । सामाजिक विकासका क्रममा विश्वकर्मा समुदायको भूमिका महत्वपूर्ण रहेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । कला सीप र कौशलताका धनी विश्वकर्मालाई समाज र राज्यले सम्मान गर्नुपर्ने सहभागीको भनाइ छ ।

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा दाङको तुलसीपुरमा शनिबार भएको प्रदेश नं ५ को स्तरीय भेलाका सहभागीले सो कुरा बताएका हुन् ।
सहभागीले विश्वकर्मा समुदायको परम्परागत सीप, कला, संस्कृति र उनीहरुमा रहेको प्रतिभाको आवश्यक अध्ययन गरी संरक्षण, संवद्र्धन र विकास गर्दै सीपको आधुनिकीकरण गर्न पनि माग गरेका छन् ।

प्रदेश नंं ५ का सभामुख पूर्ण घर्तीले विश्वकर्मा समुदाय कला र कौशलको धनी भएको भन्दै सीपलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने विचार व्यक्त गरे । उनले छुवाछूत र विभेद अन्त्य भएको भए पनि सांस्कृतिक आदतमा अन्त्य नभएको बताए।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वकर्मा इञ्जिनियर हुन् भन्दै उनीहरुले विभिन्न वस्तुको आविस्कार गरेको बताए । पाण्डेले सामन्ती अर्थव्यवस्थाका कारण छुवाछूत र जातीय विभेद पहिले रहेको भन्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै अन्त्य हुने दाबी गरे ।

कार्यपालिकाका सदस्य देवराज विश्वकर्माले दलितभित्र हुने छुवाछूतको पनि अत्य हुनुपर्ने भन्दै धर्म र थर परिवर्तनका कारण दलितको संख्यामा कमी आएको बताए । एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज केन्द्रीय अध्यक्ष गोपालप्रसाद विश्वकर्माले नेपालमा छुवाछूत कानूनी रुपमा अन्त्य भए पनि सामाजिक र सांस्कृतिकरुपमा अन्त्य हुन नसकेको बताए ।

सो अवसरमा राप्ती आँखा अस्पताल रक्षाचौरका डा. सुरेश रसाइली, डा. सविता विश्वकर्मा, इञ्जिनियर कृष्णबहादुर विश्वकर्मा, वसन्तकुमार दुलाल, जनप्रतिनिधि, पत्रकार गरी २५ जनालाई सम्मान गरिएको थियो ।