स्वास्थ्य

स्वस्थ्य जीवनशैलीमा जोड

बुटवल । स्वस्थ्य जीवनका लागि सबैले आआफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयले शनिबार बुटवल क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वस्थ्य जीवनशैली कार्यक्रमअन्तर्गत नसर्ने रोगको बढ्दो जोखिम तथा अव्यवस्थित जीवनशैलीका बारेमा गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीले जीवनशैली व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयुर्वेद क्षेत्रका विज्ञले जीवन शैली व्यवस्थित गर्न सकिएमा रोग लाग्नबाट बच्न सहज हुने भएकाले यसबारे समुदायलाई सचेतना जरुरी रहेको बताए । जनचेतनाका लागि स्थानीय स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले यस किसिमको कार्यक्रम गरिएको कार्यक्रम संयोजक विष्णुहरि आचार्यले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख डा विनोद पौडेलले निष्कृय जीवनशैलीले विभिन्न रोग निम्त्याउने भन्दै स्वस्थ्य जीवन बिताउन सचेतना जरुरी रहेको बताए ।